एनसेल खरिद बिक्रीबारे प्रचण्ड, देउवा र नेपालबीच छलफल

काठमाण्डु टुडे २०८० मंसिर २० गते १७:२१ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच आज बुधबार बालुवाटारमा भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।

एनसेलको शङ्कास्पद शेयर खरिद–बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबिच भेटवार्ता र छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण बारे कुराकानी भएको बुझिएको छ ।

तीन नेताबिच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शंकास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो ।

तर सरकारले छानबिन समिति भने गठन गरिसकेको छैन । बुधवार संसद्का २ वटा संसदीय समितिमा पनि एनसेलबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो । एक खर्ब ४३ अर्बको एनसेल ६ अर्बमा बेचेको सार्वजनिक भएपछि यसबारे सर्वत्र चासो विषय बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us