एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धन दलको बैठक बोलाए

काठमाण्डु टुडे २०८० मंसिर १९ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन । आज मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन महोत्तरी पुगेका उनले आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका लागि उनी आजै काठमाण्डु फर्कदै छन ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us