भारतीय राजदूतसँग प्रधानमन्त्रीले भनेः छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवसमक्ष गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us