
काठमाण्डु, १३ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले कम्बोडियाको टेलिकम्युनिकेशनमा तीन हजार करोड लगानी गरेको पत्ता लगाउनेलाई एक हजार करोड थपेर सबै दिने बताएका छन् ।
एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा गरेको कार्यक्रममा ओलीले आफ्नो लगानी पत्ता लगाएर देखाउन चुनौती दिए ।
‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु,’ ओलीले भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’
आफू र आफ्नो दललाई बदनाम गराउन विदेशमा लगानी गरेको आरोप लगाइएको तर्क ओलीले गरे । अहिले कम्बोडियामा लगानी गरिएको भनेजस्तै यसअघि पनि स्वीस बैंकमा पैसा राखेको हल्ला चलाइएको उनको भनाइ थियो ।
ओलीलाई हजुरबा भन्ने गरेका एमाले पूर्वकेन्द्रीय सदस्य मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको आरोप लगाएका थिए । ओलीले आफूमाथि तयस्ता आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’ को संज्ञासमेत दिए ।