
काठमाण्डु, ९ असोज– काठमाण्डु महानगरपालिका फुटपाथमा व्यवसाय गर्न दिन लचिलो भएको छ ।
समय र स्थान तोकेर फुटपाथमा व्यवसाय गर्न दिन महानगर लचिलो भएको हो । अभियन्ता ईः का प्रतिनिधिबीच मंगलबार भएको वार्तामा महानगरका प्रतिनिधिले समय र स्थान तोकेर फुटपाथमा व्यापार गर्न दिन तयार रहेको बताएका थिए ।
अमानवीय र क्रुरतापूर्वक फुटपाथका व्यवसायीलाई हटाएको भन्दै विकल्पसहति व्यवसाय गरेर खान पाउनु वातावरण बनाउन माग गर्दै ईःसहितका केही युवा काठमाण्डु महानगरपालिका कार्यालय रहेको राष्ट्रिय सभागृहको गेटमा उभिएर धर्नामा बसेको एक साता भएको छ ।
कार्यपालिकाको आगामी बैठकबाट नीतिमा परिमार्जन गरी समय र स्थान तोकेर व्यवसाय गर्न दिनेबारे निर्णय हुने महानगरले जनाएको छ ।
विभिन्न राजनीतिक दलका नेताले ईः उभिएकै स्थानमा पुगेर ऐक्यबद्धता जनाउन थालेपछि काठमाण्डु महानगरका मेयर बालेन्द्र साहमाथि फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि दबाब परेको छ ।