
काठमाण्डू, २४ जेठ– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गभर्नर नियुक्तिको विषयमा विवाद भएपछि गत महिना सरकार ढल्न खोजेको खुलासा गरेका छन् ।
महतले आफ्ना सभापति शेरबहादुर देउवाले गभर्नर नदिने हो भने हुँदैन भनेपछि प्रधानमन्त्रीेसमेत रहेका एमाले अध्यक्ष केपी ओली पछि हटेको बताए ।
‘गभर्नरको विषयमा त सभापतिले भन्नुभयो नि । कुरा मिलेन भने मिल्दैन भनेपछि बल्ल धेरै महिनापछि नियुक्ति भयो । सभापतिले यो कुरा मिलेन भने हुँदैन भन्नुभएकै हो । त्यसपछि खतराको घण्टी बज्यो भनेर निष्कर्षमा पुगेको हो’, पार्टी सम्वद्ध अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्दै महतले भने ।
उनले एमालेले संयुक्त सरकार चलाए पनि सरकारको काम गराइबाट आफूहरु पूर्णं सन्तुष्ट नरहेको उल्लेख गरे । तर, बाहिर चर्चा हुने गरेको जस्तो काँग्रेसले सबै नछाडेको दाबी गरे । ‘सरकारका केही कुरामा मलाई पनि चित्त दुखेको छ । तर गठबन्धनको बाध्यता छ’, महतले भने, ‘सबै हामीले भनेको मात्र हुँदैन ।’
फरक प्रसंगमा महतले कम्युनिष्टहरुबीच ०८४ को निर्वाचनमा गठबन्धन नहोस् भन्नेमा आफूहरु सचेत रहेको बताए । त्यसैका लागि गत वर्ष एमालेसँग ७ बुँदे. सहमति गरेको उनको भनाइ थियो ।
महतले निर्वाचन प्रणालीका कारण कुनै पनि दलले एकल बहुमत नल्याउने भन्दै एक्लाएक्लै चु्नाव लड्नुपर्ने पक्षमा आफूहरु रहेको स्पष्ट गरे । निर्वाचन प्रणालीका कारण कसै न कसैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ थियो ।
‘आगामी चुनावमा कम्युनिष्ट नमिलुन्, त्यो सुनिश्चित गरेर एक्लाएक्लै चुनाव लडौँ भन्ने लक्ष्य राखेर एमालेसँग सात बुँदे सहमति गरेका हौं’, उनले भने, ‘एमाले हाम्रो प्रतिस्पर्धी पार्टी हो । एमालेको नेतृत्वमा सरकार बनाएर कांग्रेसले सबै कुरा सुम्पिएको भन्ने होइन ।’