काठमाण्डू, २४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र पुनस्र्थापनाका लागि अब ठूलो आन्दोलन नहुने बताएका छन् ।
गृहजिल्ला झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्षात यात्र सुरु भएकाले अब ठूलो आन्दोलन नहुने बताए ।
वर्षापछि उपयुक्त समयमा फेरि पार्टीले राजतन्त्र र हिन्दू राज्यका लागि आन्दोलन गर्ने उनको भनाइ थियो । अबको आन्दोलन यसअघिको भन्दा ठूलो हुने दाबी पनि लिङदेनले गरे ।
लिङदेनले तीन दशकदेखि सीमित नेताले मुलुकको नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको मुडमा मुलुक रहेको दाबी गरे । फरक प्रसंगमा उनले वर्तमान संविधानमा कयौं विषय राम्रो रहेको स्वीकार गरे ।
राप्रपा पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त संघर्ष समितिको नेतृत्वमा राजावादी आन्दोलनमा सहभागी हुँदै आएको छ ।
राजावादीहरुले गत १५ जेठबाट निर्णायक भन्दै सुरु गरेको आन्दोलन केही दिनमै कमजोर भएको छ । लिङदेन स्वयंले पटकपटक राजतन्त्र पुनस्र्थापना नभएसम्म आन्दोलन नरोकिने बताएका थिए ।
सुवेदी नेतृत्वको समितिले राप्रपालाई सहभागी नै नगराई आन्दोलनको कार्यक्रम घोषणा गरेपछि लिङदेन रुष्ट छन् ।
उनी आन्दोलन घोषणा गर्न आयोजित कार्यक्रम छाडेर संसदमा गएको भन्दै राजावादीहरुको एक समूहले कि संसद् कि आन्दोलन छाड्न चेतावनी दिएका थिए ।
उक्त कार्यक्रममा सुवेदी पक्षधर समूहले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई होहल्ला गरेर बोल्न दिएका थिएनन् ।