
काठमाण्डू, २४ जेठ– प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाइएको दाबी गरेका हुन् ।
‘यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन,’ उनले भने ।
उनले यसपटक शहरी विकासको बजेटमा मनपर्दी गरिएको पनि बताए ।
‘एउटै शहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखशी राखेको देखिन्छ,’ उनले भने । बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको पनि उनले बताए । -न्युज एजेन्सी नेपाल