
काठमाण्डु, ८ असोज– पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डा. अनिल शाहमाथि सोमबार कुटपिट भएको छ ।
बिरामीको मृत्यु भएको विषयमा मृतकका आफन्तले शाहमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न पोखरा महानगरपालिका–५ मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
लमजुङ सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सक शाहलाई कुटेका हुन् ।
दुवै मृगौला फेल भएकी दुरालाई आइतबार अस्पताल भर्ना गरिएको थियो । मुटुको चाल एक्कासि बढेपछि आईसीयुमा राखेर उपचार गरिएकामा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रहरीले ठाक्टरमाथि कुटपिटका साथै अस्पताल तोडफोडसमेत भएको जनाएको छ ।