
अफगानिस्तान , १३ साउन – अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईका प्रभावशाली भतिजा हस्मत कारजाईको मङ्गलबार एक आत्मघाती आक्रमणमा मत्युभएको अधिकारीहरुले जानकारीे दिएका छन् ।
यसबीच अफगानिस्तानको नयाँ नेता निर्धारण हुने गरी भएको राष्ट्रपति पदको निर्वाचनको विषयमा विवाद अझै बढेको छ । यस अवधिमा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा रहेका विदेशी सेना फिर्ता जाने भएका छन् ।
हस्मत कारजाई राष्ट्रपति पदका उम्मेदवार अस्रफ घानीका लागि दक्षिणी प्रान्त कान्धारमा निर्वाचन अभियान व्यवस्थापक थिए । हाल राष्ट्रपति पदका दुई उम्मेदवारबीच निर्वाचनका विषयमा विवाद चुलिएको छ र यसले नराम्रो जातीय अस्थिरता उत्पन्न गराउनसक्ने अनुमान गरिएको छ ।
हस्मतको घरमा सिंह पालिन्छ भन्ने भनाइ अफगानिस्तानमा प्रचलनमा छ । कान्धार नगरको बाहिरी भागमा अवस्थित उनको घरमा एक व्यक्तिले आफ्नो तर्बान (पगडी)मा विस्फोट पदार्थ लुकाइ मुसलमानको धार्मिक महिना रमजानको अन्त्यमा इदको बिदा मनाउन आइ उक्त आक्रमण गर्दा उहाँको मृत्यु भएको बताइएको छ ।
कन्धार प्रान्तीय गभर्नरका प्रवक्ता दावा खान मिनापालले आत्मघाती आक्रमणकारीले पाहुनाको रुपमा हस्मत करजईको घरमा उनलाई शुभकामना दिन आएको जानकारी दिए ।
प्रवक्ता मिनापालले यी व्यक्तिले हस्मतलाई आलिङ्गन गरेपछि विस्फोट गराएको र त्यसका कारण उनको मृत्यु भएको उल्लेख गरे ।
घानी तथा प्रतिपक्षी नेता अब्दुल्लाह अब्दुल्लाहबीच जुन १४ मा भएको दोस्रो चरणको निर्वाचनका विषयमा विवाद कायम रहेको छ । उनीहरु दुबैले उक्त निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् ।
प्रारम्भिक नतिजा अनुसार घानीले विजय हासिल गर्नुभएको देखिएको छ । यसो भए पनि अब्दुल्लाहले आफ्नो पराजय अस्वीकार गर्दै मतपेटिका मार्फत नै व्यापक धाँधली भएको आरोप लगाएपछि खसेको मतको परीक्षण आरम्भ भएको छ ।
हस्मत कारजाईको हत्याका लागि तत्कालै कसैले पनि जिम्मेवारी लिएको छैन । अन्य थप व्यक्तिको मृत्यु भएको देखिएको छैन ।
सन् २०११ मा पूर्व राष्ट्रपति बरहनुद्दिन रब्बानीको पनि तर्बान बम आक्रमणकै कारण मृत्यु भएको थियो ।
राष्ट्रपति पदको निर्वाचनको अभियानमा हस्मत कारजाईले पहिले राष्ट्रपतिका भाइ कयुम कारजाईका लागि काम गरेका थिए । पछि कयुम निर्वाचनबाट बाहिरिएपछि उनले घानीका लागि काम गरेक थिए । एएफपी