भेनेजुएलामा दोहोरो शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशंका

काठमाण्डु टुडे २०८३ असार ११ गते ७:४६ मा प्रकाशित

एजेन्सी- भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो मानवीय तथा भौतिक क्षतिको आशंका गरिएको छ ।

स्थानीय समयअनुसार साँझ ६:०४ बजे गएको भूकम्पले राजधानी काराकाससहित देशका विभिन्न राज्यहरूमा व्यापक त्रास फैलाएको छ ।

भूकम्पका कारण धेरै भवन तथा संरचनाहरू भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने त्रसित स्थानीयवासीहरू सुरक्षित स्थानको खोजीमा सडकमा निस्किएका छन् ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले नागरिकहरूलाई घरबाहिर खुला तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पबाट ठूलो क्षति हुन सक्ने चेतावनी दिएको छ । प्रारम्भिक मूल्याङ्कनअनुसार प्रभावितको संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु काराकासको पश्चिममा रहेको मोन्टाल्बान क्षेत्र आसपास रहेको बताइएको छ ।

यसको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

काराकाससहित भेनेजुएलाका विभिन्न क्षेत्रमा भूकम्पको शक्तिशाली कम्पन महसुस भएको छ ।

यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us