उर्जा व्यापार सम्झौता नगरे मुलुक अन्धकारमा फस्ने : उर्जा विज्ञ प्रधान

काठमाण्डु टुडे २०७१ साउन १३ गते ९:५४ मा प्रकाशित

काठमाण्डु , साउन १३ – नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिका संयोजक ज्ञानेन्द्रलाल प्रधानले भारतसंग उर्जा व्यापार सम्झौता नभए मुलुकमा लोडसेडिङ् झनै बढ्ने बताएका छन् ।

gyanendra lalरिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रधानले अहिलेको अवस्थामा विद्युत व्यापार सम्झौता अत्यन्तै अपरिहार्य रहेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमै सम्झौता हुनुपर्ने धाराणा राखे । उनले विद्युत व्यापार सम्झौता गर्न अहिले स्वर्णिम अवसर भएको भन्दै यो अवसरलाई खेर फाल्न नहुने बताए ।

साक्षात्कारमा प्रधानले भने– यो मौकामा पनि सम्झौता हामीले गरेनौं भने भारतले आगामी दिनमा सम्झौताको बारेमा नसोच्न पनि सक्छ । यो उर्जा सम्झौता भनेको नेपालले भारतसंग माग्ने मात्रै होईन्, यो त दिने पनि हो त्यसैले यो उपर्युक्त समयको सवैले सदुपयोग गर्नुपर्छ ।

‘मुर्ख विज्ञ’ हरुले मात्रै भारतसंग हुन लागेको विद्युत व्यापार सम्झौताको विरोध गरेको भन्दै प्रधानले नेपालले भारतसंग पीटिए नगरे मुलुक आर्थिक शून्यतामा झर्ने समेत बताए ।

उनले नेपालको आर्थिक विकासको आधार नै जलस्रोतको विकास भएको भन्दै स्वर्णिम समयमा भारतसंग उर्जा व्यापार सम्झौता गर्दा मुलुकले आर्थिक समृद्धिको सही दिशा लिने विश्वास व्यक्त गरे ।

पिटिए नभए सन २०१७ सम्म नेपालको प्रति वर्ष ६ सय करोड बराबरको विजुली खेर जाने बताउँदै प्रधानले पीटिए गर्दा मुलुकको निर्यात समेत बढ्ने बताए । उनले भने– सन् १९९६ मा भएको सम्झौता पश्चात नेपालको निर्यात ४ गुणाले बढेको थियो । त्यसैले पनि नेपालको निर्यातलाई वृद्धि गर्न नयाँ सम्झौताको आवाश्यकत्ता रहेको छ ।

उनले वैदेशिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने भन्दै विकासका सवै खाले संभावित क्षेत्रमा लगानीको वातावरण सरकारले तयार पार्नुपर्ने धाराणा राखे । वैदेशिक लगानीको वृद्धि भए व्यापार घाटा लगायत सवै आर्थिक समस्याहरु हल गर्न टेवा पुग्ने प्रधानले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us