हिन्दूराष्ट्र, राजसंस्था, धर्मनिरपेक्षतामा मोदीसँग कुरा नगर्ने : थापा

काठमाण्डु टुडे २०७१ साउन १३ गते ९:२८ मा प्रकाशित

काठमाण्डु , १३ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा गर्नै नहुने बताएका छन ।

kamal thapaरिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले हिन्दूराष्ट्र, राजसंस्था, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएकोले त्यसमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा उहाँसंग यसवारेमा कुनै कुरै नगर्ने प्रष्ट पारे ।

साक्षात्कारमा थापाले भने– हामी हिन्दुराष्ट्र, राजतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएको कारण यसलाई हामी आफैले समाधान गर्नु पर्छ, यसमा भारतीय प्रधानमन्त्रीलाई तानेर विवाद बढाउनु हुँदैन । थापाले मोदीको भ्रमणमा यस्ता आन्तरिक कुरा उठाएर विवादमा पार्न नहुने जिकिर गरे ।

उनले मोदीको भ्रमणको बेला नेपालले राजनीतिक विषय छाडेर आर्थिक विकासको एजेण्डालाई अघि सार्नु पर्ने तर्क गर्दै भारतले अहिले नेपाललाई उच्च प्राथमिकतामा राखेकोले भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥्याउने विश्वास ब्यक्त गरे ।

अध्यक्ष थापाले मोदीले छिमेकी पहिले भन्ने अवधारणा ल्याएकोले आसन्न भ्रमण समस्या समाधानको विन्दु हुन सक्ने दावी गर्दै संसदमा मोदीले गर्ने संबोधनमा भारतीय धारणा र एजेण्डा अर्थात् नेपालप्रतिको नयाँ भिजन सार्वजनिक हुने विश्वास ब्यक्त गरे ।

नेपाल–भारतवीचको सम्बन्ध बहुआयामिक भए जस्तै समस्या पनि बहुआयामिक नै भएको भन्दै त्यसको समाधानको लागि नेपाल आफैले रोडम्याप तय गर्नु पर्नेमा जोड दिए । उनले भने–सम्बन्ध जस्तै सीमा अपराध, तस्करी, ब्यापारघाटा लगायतका बहुआयामिक समस्या छन् । समाधानको लागि नेपालले रोडम्याप बनाउनु पर्छ ।

एक दशकदेखि नेपाल भारत सम्बन्ध ट्रयाक बाहिर छ यसलाई समाधान गर्न पहल गर्नुपर्छ । उनले थपे–समस्या समाधान भन्ने कुरा उपर्युक्त ढंगले गर्नुपर्छ ।
थापाले भ्रमणको बेला दुबै देशको हित हुने गरी आर्थिक समृद्धिका एजेण्डा उठाउनु पर्ने भन्दै नयाँ सम्भावनाको खोजीको रुपमा समेत भ्रमणलाई उपयोग गर्नुपर्ने सुझाव प्रस्तुत गरे । प्रम मोदीको नेपालप्रति एउटा स्पष्ट भिजन छ, हामीले पनि सोही अनुरुपको भिजन तयार गर्नुपर्छ ।

यद्यपी उनले मोदीको भ्रमण अघि तीन दलले सेण्डिकेट बनाएर राष्ट्रिय सहमतिको खोक्रो एजेण्डा तय गर्न लागिएको प्रति आपत्ति प्रकट गर्दै त्यसलाई तोडेर सबै दलको सहमतिमा एजेण्डा तय गर्नु पर्ने बताए ।

थापाले भने– तीन दलको घेरमा गरिने राष्ट्रिय सहमति प्रत्यूत्तपादक हुन्छ । सरकार सहमति जुटाउन उदासिन देखिएको छ । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन पनि देशभित्रै आन्तरिक सहमती जुटाउनुपर्ने थापाले जोड दिए ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणको बेला पनि नेपालले माग मात्रै राखेको भन्दै राष्ट्रिय एजेण्डा तय नगरि कुनै पनि भ्रमणलाई फलदायी बनाउन नसकिने तर्क गरे ।
उनले भने– भ्रमणलाई उपयोगी बनाउन ‘क्लियर भिजन’ बनाउनुपर्छ । नेपालले एकीकृत साझा भिजन बनाउनु पर्छ ।

१९५० को सन्धि पुनरावलोकन गर्ने विषय समाधानको प्रकृयामा लानुपर्छ । १९९६ को ब्यापार सम्झौता पुनरावलोकन गर्नुपर्छ, औद्योगिकरणमा भारतको लगानी खोज्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us