अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैनः प्रचण्ड

काठमाण्डु टुडे २०८० असार ९ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, ९ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब नपुग्ने उल्लेख गरे। प्रधानमन्त्री दाहालले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पारे।

नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै उनले संघीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको प्रष्ट्याए।प्रधानमन्त्री दाहालले नेपालको संविधान, २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवर्द्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा–प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औल्याए।

उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसकेमा मात्र सफल हुने बताए।नेपालका भाषा, साहित्य, कला, संस्कृतिलगायत ज्ञान–विज्ञानका विभिन्न शाखाको अध्ययन, अनुसन्धान तथा विकास गर्ने उद्देश्यका साथ २०१४ सालमा नेपाल साहित्य कला एकेडेमीका रूपमा स्थापना भएको यस प्रतिष्ठान परिवर्तित हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको रूपमा हाल सञ्चालनमा छ।

विसं २०६२-६३ को जनआन्दोलनपश्चात् साविकको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ललितकला र संगीत नाट्य विधालाई छुट्टै प्रतिष्ठानका रूपमा गठन गरिएकोले नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिकशास्त्रका क्षेत्रमा अध्ययन–अनुसन्धान र प्रकाशनका काम गर्दै आइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us