
काठमाण्डू, २५ जेठ– बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ । मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोपछि पुलबाट सवारी साधन चल्न सुरु गरेको हो ।
आज बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आएको कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानले जानकारी दिएका छन ।
गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सनमार्फत् सवारी साधन सन्चालन हुँदै आएका थिए । तर डाइभर्सन गरिएको स्थानमा राखिएका ह्युमपाइप सानो बाढीले पनि बगाइदिने गरेकाले यात्रा अप्ठेरो हुने गरेको थियो ।
हालै बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म डाइभर्सनबाट पनि यात्रा गर्न रोक लगाइएको थियो । बेलिब्रिज जडान कार्य सम्पन्न भएर गाडी पनि चल्न थालिसकेकाले अब कान्ति राजमार्गमा यात्रा सहज हुने अपेक्षा रहेको छ ।