
काठमाण्डु, ७ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका लागि आवश्यक रासायनिक मलको पर्याप्त आयात भएको बताएका छन् ।
प्रतिनिधिसभामा शुक्रबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उनले खेतीपातीको समयमा विगतमा जस्तो यसपटक मलको हाहाकार नहुने दाबी गरे ।
चालु आर्थिक वर्षको यो अवधिसम्म तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको र ७१ हजार मेट्रिक टन टन मौज्दात रहेको जानकारी उनले दिए ।
कलकताबाट थप ४५ हजार मेट्रिक टन डिएपी मल नेपाल आउने क्रममा रहेको उनको भनाइ थियो । ‘यो सिजनमा मल अभावको समस्या छैन’, उनले भने, ‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतभन्दा सुदृढ भएको छ ।’ मल खरिदका लागि १५ अर्ब बिनियोजन भएको र २३ अर्बसम्मको स्रोत सुनिश्चितता भएको बताए ।
सरकार मल उपलब्ध गराउन जिम्मेवार रहेको तथा आयातमा संघीय मन्त्रालय र वितरणमा प्रदेश र स्थानीयतहलाई जिम्मेवार बनाइएको उल्लेख गरे ।