मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाण्डु टुडे २०८० असार ६ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, ६ असार- सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ ।

सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।

आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सुदूरपश्चिम सरकारले आज विहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us