
काठमाण्डु ,५ असार-बझाङमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।
मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो ।
सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।