काठमाण्डु, १२ साउन– सभासदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अधिकतम फलदायी बनाउन माग गरेका छन् ।

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सभासद भरतमोहन अधिकारीले मोदी भ्रमणबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताए । उनले मोदी भ्रमणबाट लाभ लिन प्रधानमन्त्री सुशील कोइराला नै अग्रसर हुनुपर्ने उल्लेख गरे ।
उनले १७ वर्षपछि भारतीय प्रधानमन्त्री नेपाल आउन लागेको भए पनि राजनीतिक तहमा भ्रमणको तयारी नभएको भन्दै अधिकारीले आपत्ति जनाए । तत्काल मोदी भ्रमणको तयारीमा लाग्न अधिकारीले सरकारको ध्यानाकर्षण गराए ।
अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र त्यसक्रममा भएको परराष्ट्रमन्त्रीस्तरीय बैठकका निर्णय सदनलाई जानकारी गराउन माग गरे ।
राप्रपा सभासद दीपक बोहराले मोदी भ्रमणका एजेण्डाबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । प्रस्तावित जलश्रोत सम्झौता, लुम्बिनी सर्किट र खुला सीमानालगायत विषयमा दलहरुबीच समान धारणा बनाउन सरकारले गृहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।
यस्तै सून्य समयमा बोल्ने सभासदहरुले मोदी भ्रमणका एजेण्डा तय गर्ने सम्बन्धमा राजनीतिक दललाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । मोदी भ्रमणका क्रममा राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामा आँच आउने गरी कुनै सम्झौता नगर्न समेत सभासदहरुले माग गरेका छन् ।