काठमाण्डु, १२ साउन– सरकारले महिलाहरुका लागि घरेलु कामदारका रुपमा खाडी मुलुक जान लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले तयार पारेको नयाँ निर्देशिकामा नेपाली महिलालाई खाडी जान लगाइएको प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ ।
तर विदेशमा काम गर्ने सिलसिलामा महिलामाथि हुने दुव्र्यवहार रोक्नुपर्ने उल्लेख छ । प्रतिबन्धका कारण अवैधानिक तवरमा भारत हुँदै महिलाहरु खाडी जाने क्रम बढेको र त्यस्ता महिलामाथि दुव्र्यवहार हुने गरेकाले प्रतिबन्ध फुकुवा गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
हाल दैनिक एक सयको हाराहारीमा गैरकानुनी तवरले भारत हुँदै खाडी मुलुक जाने गरेको अनुमान छ ।
गत वर्ष सरकारले ३० वर्ष मुनिका नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडी जान प्रतिबन्ध लगाएको थियो । खाडी मुलुक पुगेका नेपाली महिला शारीरिक, मानसिक र आर्थिक दुव्र्यवहार झेल्न बाध्य छन् ।