तेजाब खन्याउँदा ६ घाइते

काठमाण्डु टुडे २०७१ साउन १२ गते ११:१३ मा प्रकाशित

जाजरकोट, १२ साउन – सामान्य विवादमा झगडा हुँदा भतिज नाता पर्ने एक युवकले तेजाब खन्याउँदा अर्का युवक गम्भीर घाइते भएका छन् ।

आइतबार खलङ्गा–२ ठाँटीबजारस्थित सिमलगैरी बजारमा अर्जुन सुनारले तेजाब खन्याउँदा उनका काका पर्ने जगत सुनार गम्भीर घाइते भएका हुन् । जगतसँगै अन्य दुई जनासमेत सामान्य घाइते भएका छन् ।

खलङ्गा–२ स्यालाका दुई युवकबीच आइतबार बिहान सामान्य विवादमा झडप भएको थियो । झडपका क्रममा जगतले अर्जुनलाई पिट्दा उनको टाउकोमा चोट लागेको थियो ।

बिहानको झगडाको विषयलाई लिएर अर्जुनले स्थानीय दुर्गाबहादुर श्रेष्ठको पसलमा गफ गरिरहेको बेला एक्कासी बाहिरबाट आएर जगतको मुहारमा तेजाब खन्याउँदा जगतको आँखा, मुख, निधार र छाती जलेको छ भने दुर्गाबहादुरको ढाड, आँखा र छातीमा तेजाबले असर गरेको छ ।

त्यस्तै, नजिकै रहेका नायकवाडा– ८ का रामबहादुर नेपालीको दुवै आँखामा तेजाब परेर सेतो भएको प्रत्यक्षदर्शी गणेश बुढाले जानकारी दिए । उनले तेजाबको असरले वरिपरिको वातावरण आधा घण्टासम्म धुवाँमय भएको बताए ।
तेजाब खन्याएपछि अर्जुन फरार भएको र उनको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर सिंहले जनाए ।

घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका जगत र रामबहादुरलाई नेपालगन्ज पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us