हाते बम पड्किएर नाबालकको मृत्यु, ८ घाइते

काठमाण्डु टुडे २०७१ साउन ११ गते १४:१९ मा प्रकाशित

सिरहा, ११ साउन– सिरहाको गोविन्दपुरमा बेवारिसे हाते बम पड्किएर एक नाबालकको ज्यान गएको छ ।
गोविन्दपुर–७ रनाहा टोलमा ग्रिनेट विष्फोट हुँदा स्थानीय विष्णुदेव महतोका १० वर्षीय छोरा रामकुमार महतोको मृत्यु भएको हो ।

विस्फोटमा गम्भीर घाइते भएका महतोको उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लहानका नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार विस्फोटमा मृतकका बाबु विष्णुदेवसहित ८ जना घाइते भएका छन् ।

घाइते हुने अन्यमा श्रीदेव महतो, गणिता महतो, सविता महतो, जीवन महतो र पुनम यादव छन् । टाउको, खुट्टा र हातमा बमको छर्रा लागेर गम्भीर घाइते भएका उनीहरुको लहानस्थित फ्रेण्डस् मोडल हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।

मृतककी आमाले उखु बारीमा भेटेको बम फलामको डल्लो ठानेर घर ल्याएर खोल्ने क्रममा आँगनमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us