संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछ: उपमहासचिव ज्ञवाली

काठमाण्डु टुडे २०८० जेठ ७ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहेने बताएका छन ।

आज (आइतबार) काठमाण्डुमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन ।

उनले भने, ‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ ।

केही दिनअघि संसदको विषयगत समितिमा पनि गइसकेको छ’ म आशा गर्छु छिटो भन्दा छिटो टुंगिन सकोस्, अरु विषयमा हामी प्रतिपक्ष हौँला ।

धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ ।’ उनले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताएका छन ।

उनले अन्य कुराहरुमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरु भएपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने पनि बताएका छन ।

उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्नेकुरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us