माधव नेपालबारे ओलीको प्रतिक्रियाः मैले अख्तियार लगाएको होइन

काठमाण्डु टुडे २०८२ जेठ २४ गते १८:२९ मा प्रकाशित

विराटनगर, २४ जेठ– प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवदाीका अध्यक्ष माधवकुमार नेपाललाई आफूले अख्तियार लगाएर मुद्धा दर्ता नगराएको प्रतिक्रिया दिएका छन् ।

मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा सामुदायिक अस्पतालको उद्घाटनपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अख्तियार कसैका विरुद्धमा प्रयोग गर्ने संस्था नभएको बताए ।

‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो’, माधव नेपालसँग अख्तियारमार्फत प्रतिशोध साँध्नुभएको हो भन्ने प्रश्नको जवाफमा ओलीले भने ।

नेपाल प्रधानमन्त्री भएका बेला ०६६ सालमा पतञ्जलीलाई पहिला हदबन्दीभन्दा बढी जग्गा किन्न र पछि बेच्न स्वीकृति दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले केही दिनअघि उनीसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

एकीकृत समाजवादीले ओलीले अख्तियारमार्फत प्रतिशोध साँधेको आरोप लगाएको छ । नेपालले पनि ओली बदलाको भावनाबाट प्रेरित भएर मुद्धा दर्ता गर्न लगाएको भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us