
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संवाद, सहमति र सहकार्यबाट अघि बढ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन ।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन । ओलीले भने, ‘संवाद, सहमति र सहकार्यको परिपाटीतर्फ देशलाई फर्काउनुपर्छ ।
त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु ।’ उनले २३ महिनासम्म संवैधानिक परिषदको बैठक नराखेको भन्दै ओलीले अहिले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नुको दोष प्रमुख प्रतिपक्षी एमालेलाई दिन खोजिएको टिप्पणी गरेका छन ।
उनले भने, ‘२३ महिना संवैधानिक परिषद्को बैठक नबोलाउने, एउटा प्रन्यामाथि महाअभियोग लगाएर छोडिदिने, महाअभियोग प्रस्ताव अगाडि बढ्न नदिने ।
यसरी न्यायोचित र पारदर्शी ढंगले काम हुन सक्छन् रु यस्ता कुराहरु, कमीकमजोरी आफूले गर्ने र दोष अर्काको टाउकोतिर लगाइदिने ?’
उनले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको बताएका छन ।
उनले न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका छन ।
उनले नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई सत्ता प्राप्त गर्ने औजारको रुपमा प्रयोग गरिएको भन्दै सरकार र सत्तागठबन्धनको आलोचना गरेका छन ।