दुर्गा प्रसाईंको बयानः तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १८:५१ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंशात्मक घटनामा दुर्गा प्रसाईं सहित ६१ जना विरुद्ध काठमाण्डू जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।

४ जना बालबालिका विरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता हुँदै छ । प्रसाईंलाई पत्रकार सुरेश रजकको हत्यामा संलग्न कसुरमा पनि प्रतिवादी कायम गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले तीनकुनेमा भिडलाई आपराधीक काम गर्न उक्साउने र तोडफोड गर्न लगाउने व्यक्ति सन्तोष सिलवाल ‘राजावादी’ हुनुपर्ने बयान दिएका छन् ।

बयानमा उनले भनेका छन्, ‘हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने मानिस सन्तोष सिलवाल र निजको समूह हुनुपर्छ ।’ प्रदर्शनकारीले आगजनी गरेपछि मृत्यु भएका पत्रकार सुरेश रजकलाई आफूले नचिनेको प्रसाईंले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘मैंले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागी निर्देशन दिएको पनि थिएन ।’

आफू कार्यक्रम स्थलमा रहुन्जेलसम्म तोडफोड र आगजनी नभएको प्रसाईंले जिकिर गरेका छन् । उनले भनेका छन्, ‘म सुरक्षित स्थलतर्फ हिँडेपछि सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोहरू हेर्दा रवीन्द्र मिश्र र डा. धवल शमशेर समेतको नेतृत्वमा संसद् कब्जा गर्ने भनी हुलभिडको समूहलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भएपछि उत्तेजित समूहले तोडफोड तथा आगजनी गरेको जस्तो देखिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us