काठमाण्डु, १० साउन– नेपालमा आगाले जलेर घाइते हुने र मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न सरकारले ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल अग्नि जलन समाज नेपालले शनिबार राजधानीमा गरेको ‘नेपालमा अग्नि जलन’ विषयको अन्तक्र्रियामा नेपालमा प्रत्येक वर्ष ५५ हजार मानिस आगाले जल्ने समस्यामा परेको र त्यसमध्ये पाँच प्रतिशत अपाङ्ग र चार प्रतिशत मर्ने गरेको जानकारी दिइयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा तीर्थराज बुर्लाकोटीले सरकारले जलेर घाइते भएकाहरुका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अग्नि जलन अस्पताल छुट्टै खोल्ने वा प्रत्येक अस्पतालमा जलेका बिरामीका उपचारका लागि छुट्टै एकाइ तयार गर्नेबारे तयारी गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नेपालमा अग्नि जलनबाट बच्नका लागि आवश्यक तालिम र चेतनामूलक सामग्री प्रसारण गरी सचेत गराउन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजका कार्यवाहकमहासचिव रामनन्दनप्रसाद चौधरी तथा विज्ञ नरदेवी बारिया र डा सन्देशप्रकाश मास्केले अग्नि जलन समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै आगाबाट जल्ने समस्या विश्वमा नै बढ्दै गएको उल्लेख गरे ।
समाजका अध्यक्ष अजित नारायणसिंह थापाले आगाबाट जलेका व्यक्तिलाई छिटो तरिकाले उपचार गर्न विभिन्न खालको अभियान सुरु गरिएको बताए । नेपालको तराई क्षेत्रमा दाइजो कम ल्याएबापत आगामा जलाएर मार्ने र यातना दिने गरेको समाजले जनाएको छ ।