
काठमाण्डु,१३ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच सिंहदरवारमा आज बुधबार शिष्टाचार भेटर्वात भएको छ ।
भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ । सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक,सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गरेका छन ।
उनले महाभूकम्पमा क्युवाको चिकित्सक टोलीले पुर्याएको सहयोगको प्रशंसा गरेका छन । सभामुख घिमिरेले क्युवाको संसदको हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरुलाई शुभकामना दिएका छन ।
उनले दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान प्रदान गर्न नेपाल तयार रहेको पनि बताएका छन । राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरेका छन ।