शौचालयको सेफ्टी ट्याङ्कमा निस्सासिएर एकको मृत्यु, एक गम्भीर

काठमाण्डु टुडे २०७१ साउन ९ गते ८:११ मा प्रकाशित

महोत्तरी , ९ साउन  –  शौचालयको सेफ्टी ट्याङ्कमा निस्सासिएर महोत्तरीको बनौटा गाविसमा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पशुपतिनगर–६ बस्ने २० वर्षीय सुनिल महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहीबार अबेर साँझ बनौटा–४ मा स्थानीय लगन साहको निर्माणाधीन अन्डर ग्राउन्ड पक्की घरको शौचालयमा ढलान गरिएको सेटिङ खोल्न सेफ्टी ट्याङ्कीभित्र दुईजना गएकोमा महराको सोही ट्याङ्कीभित्र निस्सासिएर मृत्यु भएको प्रहरी निरीक्षक एकवाल हवाडीले बताए।

महरासँगै सो ट्याङ्कीमा पसेका अर्का मजदुर पशुपतिनगर–२ बस्ने मदनकुमार महतो पनि अचेत भई उनको अवस्था गम्भीर रहेको छ । दुवै मजदुर सेफ्टी ट्याङ्कीभित्र पसेको धेरै बेर भइसक्दा पनि उनीहरू निस्केपछि शङ्का लाग्दा अरू मजदुर र घरधनीसमेत हेर्न जाँदा दुवैजना बेहोस भई लडिरहेको अवस्थामा भेटेपछि तत्काल प्रहरी बोलाई दुवै जनाको उद्धार गरिएकामा महराको मृत्यु भइसकेको र महतो गम्भीर अवस्थामा फेला परेको प्रहरी निरीक्षक हवाडीले बताए ।

प्रहरीले  महराको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने  महतोलाई पनि उपचारका लागि सोही अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us