भ्रष्टाचारमा ५ वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास: केसी

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १६:२७ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख–कांग्रेस सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा ५ वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास भएको भन्दै त्यसको विरोध गरेका छन ।

भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था राखेर राष्ट्रिय सभाले दुई वटा विधेयक भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक० पारित गरेर प्रतिनिधिसभामा पठाएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताउका हुन । कांग्रेस सांसद केसीले भ्रष्टाचारमा हदम्याद लाग्ने विषयको विरोध गरेका छन ।

उनले यस्तो व्यवस्था कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन । उनले भने, ‘पाँच वर्ष भित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचार गर्नेहरु बच्नको निम्ति ल्याएको हो ।

यो कुनै हालतमा हुन्न ।’ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा गएको विधेयकमा भने प्रष्ट रुपमा हदम्याद सम्बन्धी व्यवस्था गरीएको छ ।

भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधि सम्बन्धी व्यवस्था रहेको छ । जहाँ भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुनेछ ।’सम्पत्ति हिनामिना सम्बन्धी कसूरमा भने हदम्याद राखिएको छैन् ।

जहाँ भनिएको छ, ‘‘सरकारी, सामुदायिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन कुनै हदम्याद लाग्ने छैन ।’ राष्ट्रिय सभाले पारित गरेर पठाएको यी व्यवस्थाहरुमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us