
काठमाण्डु, १२ वैशाख–एमाले सांसद रघुजी पन्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणबारे संसदमा जानकारी नगराएको प्रति गुनासो व्यक्त गरेका छन ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद पन्तले सदनमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउने भन्दा पनि संसदमा उनको अनुहार नै देख्न नपाएको बताएका छन ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणको विषय महत्त्वपूर्ण रहेकोले त्यसबारेमा संसदभित्र छलफल हुनुपर्ने बताएका छन । उनले भने,‘भारतसँगको सम्बन्ध हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ । त्यो सम्बन्ध सुदृढ होस्, फलदायी होस् भन्ने हाम्रो चाहना छ ।
भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौँ । अहिले पनि ती समस्याहरु विद्यमान छन् । जस्तै हाम्रो स्वतन्त्रता, हाम्रो आत्मनिर्णयको अधिकार, हाम्रो आर्थिक विकास र हाम्रा विभिन्न विकास निर्माणको कामलाई प्रभावित गरिरहेको छ ।
भारतसँग १९५० मा भएको सम्धी ७३ वर्ष भइसक्यो । यो सम्धी फेर्नुपर्यो भनेर २८ वर्षपहिले मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा उठाउनुभएको थियो । तर आजसम्म त्यो आलटाल भइरहेको छ ।’