
काठमाण्डु, १२ वैशाख– एमाले सांसद ईश्वरबहादुर रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभन्न आग्रह गरेका छन । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन ।
उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । उनले भने, ‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ ।
तर, इतिहासमा गरेका राम्रा कामहरु र जो अरुले नराम्रा काम गरेका छन् ती सँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस्, त्यसरी नबुझियोस्’ ।
उनले आफ्नो पार्टी मिसनमा, भिजनमा र एक्सनमा सधैंभरि नयाँ दल रहेको बताएका छन । उनले नयाँ दल आउनु स्वभाविक भएको भन्दै उनले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने बताएका छन ।