
काठमाण्डु, १२ वैशाख– बारा–२ मा मतगणना पुनः सुरु भएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो ।
उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको छ । सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए ।
त्यसपछि जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाहा पनि चाबी लिएर हिँडेपछि मतगणना स्थगित भएको थियो । चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै निर्वाचन कार्यालयले माइकिङ नै गरेको थियो ।
उनीहरु आएपछि करिब एक घण्टापछि मतगणना सुरु भएको स्रतले जानकारी दिएको छ। बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा छन् ।