फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन: नागरिक उड्डयन प्राधिकरण

काठमाण्डु टुडे २०८० वैशाख १२ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाण्डुबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि नभएको जानकारी दिएको छ ।

विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले बताएको छ । यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो ।

प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जानकारी दिएको छ । आज सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास नभेटीएको प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन ।

एउटा भँगेरो मृत भेटिएको र सो भँगेरा केही दिन अगाडि मरेर सुकिसकेको अवस्थामा रहेको उनले जानकारी दिएका छन। प्राधिकरणका अनुसार एफजेड५७६ जहाजका पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए ।

त्यसपछि प्राधिकरणले सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो । पाइलटले जहाजलाई काठमाण्डुमा अवतरण गराउन चाहेको अवस्थामा त्यसको तयारी गरिएको थियो । तर, पाइलटले उडान गन्तव्यतर्फ नै जारी राख्ने निर्णय लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us