
काठमाण्डु ,१० वैशाख- मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
उपनिर्वाचनका बेला अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।
उपनिर्वाचन भइरहेका बेला मुख्यमन्त्री यादव पचरौता नगरपालिका गएका थिए । आयोगले सोधेको स्पष्टीकरणमा भनेको छ : ‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?,
आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिएका छन् ।