संयुक्त आयोगको तयारी बैठक आज, भरे साँझ भारतीय विदेशमन्त्री आउँदै

काठमाण्डु टुडे २०७१ साउन ९ गते १:१८ मा प्रकाशित

flageकाठमाण्डु ९ साउन – भोलि यहाँ आयोजना हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकको तयारीको सिलसिलामा आज दुवै मुलुकका विषयगत उच्च अधिकारीहरुको बैठक हुँदैछ ।

आजै साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराज उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट राजधानी आउँदै छन् ।

आयोगको पहिलो र दोस्रो बैठकभन्दा पृथक् रुपमा हुन लागेको विषय विज्ञहरुको बैठक विशेषगरी पाँच विधामा केन्द्रित रहनेछ । दुवै मुलुकका उच्चपदस्थ अधिकारी र विज्ञ प्रतिनिधिहरुको आजका बैठकमा राजनीति, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार एवम् पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति, शिक्षा एवम् सञ्चारबारे गहन विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजको तयारी बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध मामिला हेर्ने सहसचिव सञ्जिब रञ्जन, सडक यातायात तथा राजमार्गको जिम्मेवारी पाएका सहसचिव निरज वर्मा, जलस्रोत मन्त्रालयअन्तर्गतको केन्द्रीय जल आयोगका प्रमुख इन्जिनियर एमएस अग्रवाल र केन्द्रीय रेलवे मन्त्रालयका कार्यकारी निर्देशक राजधानी आइसकेका छन् ।

भोलि बिहानैदेखि विदेशमन्त्री स्वराज राजनीतिक भेटवार्तामा व्यस्त हुनेछन भने कार्यालय समय प्रारम्भ हुने समयतिर आयोगको बैठकमा सहभागी हुनेछन् । । भोलि नै उनले राष्ट्रपति डा रामवरण यादवसँग राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नेे कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटेर प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्न उनको सरकारी निवास बालुवाटार पुग्नेछन् । भोलि नै उनकोे एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग लाजिम्पाट निवासमा भेटघाट गर्ने कार्यक्रम छ ।

भोलि दिउँसो नेपालका लागि भारतीय राजदूत रञ्जित रेले विदेशमन्त्री स्वराजको सम्मानमा लैनचौरस्थित आफ्नो निवासमा दिवाभोजको आयोजना गर्ने छन भने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ ।

आइतबार बिहान भगवान् पशुपतिनाथको दर्शन गरी उनी स्वदेश फर्कने छन् । नेपाल–भारत संयुक्त आयोगको बैठक समापनपछि संयुक्त प्रेस विज्ञप्ति जारी गरिने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । तेइस वर्षपछि आयोगको बैठक हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us