
चितवन,७ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्षन एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–२ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जितबाट डराउनुनपर्ने बताएका छन ।
उनले कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन नारायणी नदी जस्तो भएको बताएका छन ।
आज (बिहिबार) चितवनको कालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले रवि लामिछानेको पार्टीको पछिल्लो प्रभावप्रति संकेत गर्दै भने, ‘खहरे कहिलेकाहीँ उर्लिएर आउँछ, त्यसको केही समय पछि सुक्छ, खहरेसँग डराउनुपर्ने कुनै कारण छैन, आँधीहुरीसँग डराउनुपर्ने छैन, आवश्यकता पनि छैन ।’
उनले चितवन २ का मतदाताले ४ मंसिरको चुनावमा गल्ती गरेको भन्दै अहिले सच्याउनुपर्ने बताएका छन । प्रचण्डले एमालेसँग मिलेर सरकार चलाउँदा आफूलाई गाह्रो भएको बताउँदै कांग्रेससँग गठबन्धन बनेपछि ढुक्क भएको पनि बताएका छन ।
उनले भने, ‘हामी एउटा गठवन्धनबाट चुनाव जित्यौं, प्रधानमन्त्री हुँदा कता कता पुगियो पुगियो, म प्रधानमन्त्री भए पनि खुसी हुन सकिनँ, शेरबहादुरजी पनि मलाई प्रधानमन्त्री बनाउन नपाएकोमा दुःखी हुनुभयो, अन्ततः हामी लभ परेकाहरु एक ठाँउमा भयौं’ ।