हुम्लाको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०८२ जेठ ५ गते २२:३८ मा प्रकाशित

काठमाण्डू, ५ जेठ- गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा आएको पहिरोले विस्थापित भएका स्थानियहरूलाई तुरुन्त राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा उनले तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री पठाउन आवश्यक निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले राहत सामाग्रीलाई हेलिकप्टरमार्फत उक्त क्षेत्रमा पुर्याउने र स्थलगत अध्ययनका लागि प्राविधिक टोली पनि पठाउने पनि बताए ।

साथै उनले विस्थापितहरूको बसोबास र खानपानका व्यवस्थापनका लागि पनि निर्देशन दिएका छन्। प्राविधिक टोलीले सो क्षेत्रको अध्ययन गरी विस्तृत रिपोर्ट तयार गर्नुपर्ने उनले बताए ।

राहत र स्थलगत अध्ययन कार्यमा कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ ।
नाम्खा गाउँपालिकाको तिल गाउँमा हिमताल फुटेर आएको पहिरोले स्थानीयलाई विस्थापित गरेको छ ।

बैठकमा मन्त्री लेखकले प्रिमनसुनपूर्व नै विपद प्रतिकार्यका लागि तयारी थाल्न र समन्वय गरिनुपर्ने विषयमा ध्यान दिन पनि निर्देशन दिए ।
उनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सातवटै प्रदेश र ७७ जिल्लाका सुरक्षा समितिहरूसँग बैठक गरी समन्वय गर्न र तयारी थाल्न आदेश दिएका छन् ।

यसैबीच विपद प्रतिकार्यमा निजी क्षेत्रको सहयोग र स्रोत साधनको उपयोग गर्न समन्वय गर्ने व्यवस्था बनाउन मन्त्री लेखकले सबैलाई ध्यानाकर्षण गराएका छन्।
बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको भन्दै तत्काल राहत वितरण कार्य अघि बढाउनुपर्ने बताए ।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुखहरू र विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीहरू सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us