जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको पाएँः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ ५ गते २२:३१ मा प्रकाशित

जाजरकोट, ५ जेठ- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् ।

छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धमा जाजरकोटले पुर्‍याएको योगदानको प्रशंसा गरे । जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए ।

अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ,’ उनले भने, ‘अब फेरि हामीलाई तपाईँहरुले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।’ मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उनले बताए ।

जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारम्म राख्ने प्रचण्डको प्रतिबद्धता छ । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने पनि उनले आश्वासन दिए । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us