केपी ओलीको प्रश्न– संवैधानिक परिषदमा मात्रै विपक्षी दलको नेता चाहिने हो ?

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनलाई समेत प्राथमिकता राख्नुपर्ने अडान राखेपछि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ ।

उनले संसदीय समितिहरु गठन नभएसम्म प्रधानन्यायाधीश सिफारिस गर्नु कुनै अर्थ नहुने भन्दै समितिका विषयमा पनि टुंगो लगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘तपाईंहरुलाई संवैधानिक परिषदको बैठक बस्न मात्रै प्रमुख विपक्षी दलको नेता चाहिदो रहेछ, अरुमा मतलब हुँदो रहेनछ’ ‘अहिले संवैधानिक परिषदबाट सिफारिस भएर गएपनि संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्ने होइन ।

समिति गठनका विषयहरु पहिले टुंग्याऔं, त्यसपछि संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता बाधक बन्दैन ।’ एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्वको अनुपातमा संसदीय समितिको नेतृत्व गर्न पाउनुपर्ने माग राखेको छ ।

तर सत्तारुढ दलहरुले संसदीय प्रचलन अनुसार, सार्वजनिक लेखा समिति बाहेक अन्य समितिको हकमा बहुमतका आधारमा निर्णय गरेर नेतृत्व चयन गर्नुपर्ने अडानमा राखेका छन ।

संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीशको नाम सिफारिस गरेर अर्थ नहुने भन्दै ओलीले त्यो विषयलाई पनि साथसाथै किनारा लगाउनुपर्ने बताएका छन ।

बैठकमा ओली आक्रोशित रुपमा प्रस्तुत भएपछि प्रधानन्यायाधीश नियुक्तिको विषय एजेण्डाको रुपमा प्रस्तुत भएपनि कुनै निर्णय हुन नसकेको ती सदस्यले जानकारी दिएका छन ।

त्यसलगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना रुस भ्रमणका लागि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गए । उनले बैठकमा यो विषयमा सहमति भए १२ गते आफू फर्केर हस्ताक्षर गर्ने बताएका थिए ।

ओलीले बैठकको एजेण्डा र पूर्वसूचनाका बारेमा समेत आपत्ति जनाएको ती सदस्यले जानकारी दिएका छन । केही दिन अघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे बालकोट पुगेका थिए ।

त्यसक्रममा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भन्दै आगामी शुक्रबार बैठक डाक्ने तय भएको थियो । शुक्रबार डाक्ने भनिएको बैठक एकाएक बुधबार बोलाइएको र त्यसमा पनि मंगलबार अपराह्न मात्रै बैठकबारे जानकारी दिइएको भन्दै ओलीले आपत्ति जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us