
भारत, ८ साउन – दक्षिण भारतमा बिहीबार बिहान एक विद्यालय बसलाई यात्रुबाहक रेलले ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको समाचार छ ।
मृतक बालबालिकाको सङ्ख्या अझै बढ्न सक्ने डर रहेको अनुमान गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
वरिष्ठ प्रहरी अधिकारीका अनुसार ११ विद्यार्थी र बस चालकको घटना स्थलमै मृत्यु भएको छ ।
तर तलाङ्गाना राज्यमा भएको यस दुर्घटनामा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको एक रेलबे अधिकारीले जानकारी दिएका छन् ।
प्रान्तीय राजधानी हैदराबादबाट ६२ किलोमिटर टाढा रहेको एक गाउँमा रेलले बसलाई ठक्कर दिंदा सो घटना भएको दक्षिणमध्ये रेलबेका प्रवक्ता के साम्बा सिभा राओले बताएका छन् ।
राओका अनुसार यस विद्यालयको बसले करिब ३८ जना विद्यार्थी सवार रहेका थिए । सो दुर्घटनामा करिब २५ विद्यार्थीले ज्यान गुमाएको अनुमान गरिएको राओले एएफपीलाई जनाकारी दिएका छन् ।
दुर्घटनामा संलग्न सो रेल महाराष्ट्र राज्यको नन्देद सहरबाट हैदरवादतर्फ गइरहेको समाचारमा उल्लेख छ ।
हालसम्म प्राप्त समाचारअनुसार यस दुर्घटनामा रेलमा सवार कोही यात्रुको मृत्यु भएको छ्रैन ।
भारतमा भिषण रेल दुर्घटनाहरु एक साधारण घटनाको रुपमा भएको पाइन्छ ।
भारतमा करोडौँ व्यक्तिले रेल यात्रा गरिरहेका हुन्छन् । सन् २०१२ को सरकारी प्रतिवेदनअनुसार भारतमा प्रत्येक वर्ष रेल दुर्घटनामा करिब १५ हजार व्यक्तिले ज्यान गुमाउने गर्दछन् ।
बिहिबार भएको सो दुर्घटनाको कारण अनुसन्धानरत रहेको सुरक्षा स्रोतले जनाएको छ । एएफपी