
काठमाण्डु,२८ चैत– काठमाण्डु महानगरपालिकाले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाएको बारेमा मन्त्रिपरिषदमा छलफल भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन यी ठाउँको फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन ।
काठमाण्डु उपत्यकाको फोहर काठमाण्डु महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगरका मेयरले अभिव्यक्ति आएको भन्दै बैठकमा छलफल भएको एक मन्त्रीले बताएका छन ।
संघीय सरकारले सहयोग नगरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने बताएका थिए । मन्त्रिपरिषदको बैठकमा सुरुमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहसँगको संघीय सरकारको सम्बन्धलाई लिएर सार्वजनिक रुपमासमेत प्रश्न उठेकाले फोहोर नउठाउने महानगरको निर्णयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका ती मन्त्रीले जानकारी दिएका छन ।
उनका अनुसार प्रधानमन्त्रीले स्थानीय तह र संघीय सरकारको सम्बन्धलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर मन्त्रालयगत रुपमा धारणा मागेका थिए ।
सबै मन्त्रीले आफ्नो कुरा राखेपछि यसबारेमा महानगरसँगै छलफलका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिएका छन ।