काठमाण्डु, ८ साउन – म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले यस वर्षको ‘जोनाथन बी पोष्टल अवार्ड’ अन्तराष्ट्रिय अवार्ड जितेका छन् ।
सो पुरस्कार इन्टरनेट सोसाइटीले प्रदान गरेको हो । हालै टोरोन्टोमा सम्पन्न इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सको ९० औं सम्मेलनमा उनलाई २० हजार अमेरिकी डलर र अवार्ड प्रदान गरिएको छ ।
‘नेपाल वायरलेस नेटवर्क’ परियोजना स्थापना गरी ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याएर ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यो वर्षको अवार्ड पुनलाई प्रदान गरिएको इन्टरनेट सोसाइटीले जनाएको छ ।
सुरुमा केही स्कूलमा वायरलेस इन्टरनेट नेटवर्क स्थापना गरी काम थालेका पुनले अहिले १५ जिल्लाका करिव १ सय ७५ गाउँलाई इन्टरनेट नेटवर्कमा जोडेका छन् । यसको माध्यमबाट ग्रामीण वस्तीका मानिसहरुले स्वास्थ्य उपचार, पढाइ, सञ्चारलगायतका सुविधा उपयोग गर्न पाएका छन् ।
यसअघि पुनले सन् २००७ मा एशियाको नोबेल पुरस्कारका रुपमा चिनिने प्रसिद्ध म्यागसेसे पुरस्कार प्राप्त गरेका थिए ।
म्याग्दी जिल्लाको राम्चे गाविसस्थित नागीका बासिन्दा पुनले आफ्नै खर्चमा म्याग्दी जिल्लाबाट इन्टरनेट अभियानको शुरुवात गरेका थिए ।