
काठमाण्डु, २३ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन ।
आज (बिहीबार) पार्टी निकट पेशागत महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका छन ।
उनले भने, ‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’ ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरुसँग त बहुमत छँदैछ, महाअभियोग ल्याउन पनि बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’
प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा रहेको छ ।
ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका गरेका व्यक्त गरेका छन । उनले अहिलेकै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याएर सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको बताएका छन ।