ममाथि पुष्पलाललाई जस्तै घेराबन्दी भयो: प्रचण्ड

काठमाण्डु टुडे २०७१ साउन ७ गते ६:३३ मा प्रकाशित

काठमाण्डु, ७ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र आफ्नो पार्टीविरुद्ध कम्युनिष्ट आन्दोलन भित्र र बाहिरबाट prachandaतीव्र आक्रमण भइरहेको बताएका छन् ।
कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रममा उनले पुष्पलाललाई जस्तै आफूमाथि आक्रमण केन्द्रित गरिएको बताए ।

‘विगतमा पुष्पलाललाई कम्युनिष्ट आन्दोलनभित्रका उग्रवामपन्थी र दक्षिणपन्थी तथा बाहिरका प्रतिक्रियावादीले एकैपटक आक्रमण गरेका थिए’, उनले भने, ‘कम्युनिष्ट आन्दोलनको सही र क्रान्तिकारी धारालाई बदनाम गराउने उद्धेश्यले अहिले हामीमाथि त्यस्तै आक्रमण भइरहेको छ ।’ उनले आफ्नो पार्टी र आफूलाई लाइनबिहीन भन्ने गरिएकामा आपत्ति जनाए ।

विगतमा पुष्पलाललाई पनि लाइनबिहीन, गद्धारजस्ता आरोप लगाइएको उनले चर्चा गरे । प्रचण्डले पुष्पलाललाई विगतमा गद्धार भन्ने तत्कालीन नेकपा माले (हालको एमाले) र मोहन विक्रम सिंहले आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्न नमिल्ने तर्क गरे । एमाओवादीको असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षले आफ्नो विचारमा चलेको दाबी गर्दै आएको छ ।

‘पुष्पलाल बाचुञ्जेल गद्धारको आरोप लगाउनेहरुले अहिले आएर पुष्पलाल मेरो भनिहरेका छन्’, प्रचण्डले भने, ‘उनीहरु पुष्पलालका असली उत्तराधिकारी हुन सक्दैनन्, उनीहरुलाई पुष्पलाल मेरो भन्ने अधिकार छैन ।’

उनले एमाले र मोहन विक्रम सिंहलाई पुष्पलाललाई पेवा नठान्न चेतावनीसमेत दिए । पुष्पलालको राजनीतिक लाइनको प्रतिनिधित्व आफूहरुले गरिरहेको भन्दै प्रचण्डले पुष्पलालका उत्तराधिकारी एकीकृत माओवादी रहेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us