मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ: पौडेल

काठमाण्डु टुडे २०७९ चैत १५ गते १४:४४ मा प्रकाशित

काठमाण्डु,१५ चैत–कांग्रेस सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन । आज (बुधबार)_ प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले यस्तो बताएका हुन ।

उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाण्डु आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताएका छन ।

सिरहा र महोत्तरीका मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाण्डु आएका छन् । यस्तै रौतहटबाट अर्को समूह पनि काठमाण्डु आउने तयारीमा रहेको आफूले जानकारी पाएको उनले बताएका छन ।

उनले भने,‘ नागरिक सधैं दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौं धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाण्डु आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने’, पौडेलले भने, ‘कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने ?’

उनले यसअघि नवलपरासीका मिटरब्याज पीडितले पटक पटक ६१ दिन धर्नामा बसेपछि सरकारले बनाएको कार्यदलले दिएको सुझाव पनि कार्यान्वयन नभएको बताएका छन ।

उक्त सुझाव कार्यदलले मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रुपमा स्वीकार गरे पनि त्यस अनुसार कानुन नबनाउँदा साहुकारहरुले किसानको जग्गा धमाधम हडपिरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us