
काठमाण्डु,१० चैत– वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् ।
उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाण्डुमा निधन भएको हो । उनी निमोनियाबाट पीडित थिइन् । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन रुपमा काम गरेकी थिइन ।
रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गरेकी थिइन् । यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड प्रप्त गरेकी थिइन ।
ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्। स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।