
काठमाण्डू, १ जेठ- प्रमुख सत्तारुढ घटक काँग्रेसले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने प्रधानमन्त्री केपी ओलीको नारामा आपत्ति जनाएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै काँग्रेस प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नाराले मात्र देश विकास सम्भव नहुने बताए ।
उनले ओलीको उक्त नारालाई अर्थहीनको संज्ञा दिए । ओलीले नेकपा नेतृत्वको सरकारका बेलादेखि नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ शब्दावली प्रयोग गर्दै आएका छन् ।
संघीय संसदका दुवै सदनबाट पारित भइसकेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सोही शब्दावलीको प्रयोग गरिएको छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने शब्दावलीबाट केही पनि हुनेवाला छैन । यद्यपि त्यसप्रति हाम्रो ज्यादै मोह भएजस्तो लाग्छ । त्यसबाट कुनै परिणाम आउनेवाला छैन । परिणाम केबाट आउँछ भनेदेखि हामीले हाम्रो विनियोजन ठीक ढंगले गर्छौं कि गर्दैनौं ? जुन वर्ग समुदायलाई सहयोग आवश्यक छ त्यहाँ मात्र सामाजिक सुरक्षाका कुरा गर्छौं कि गर्दैनौं ? पुँजीगत खर्च ठीक ढंगबाट गर्छाैं कि गर्दैनौं ?’, महतले भने ।
महतले सस्तो लोकप्रियता भल्कने गरी बजेट नबनाउन अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिए । यस्तै महतले बजेट निर्माणमा स्वार्थ समूहले अनुचित दबाब दिने गरेको समेत खुलाए ।
अर्थमन्त्रीलाई धान्नै नसकिने खालको दबाब दिने गरिएको भन्दै उनले त्यस्ता दबाब झेल्न सरकार एकजुट भएर लाग्नुपर्ने बताए ।