
काठमाण्डू, १ जेठ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले बिहीबार एक सूचना जारी गर्दै पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाउने निर्णय भएको जानकारी दिएको हो । नयाँ मूल्य बिहीबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब काठमाण्ड, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५४ रुपैयाँ ५० पैसा कायम हुनेछ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ निर्धारण गरिएको छ ।
डिजेलको नयाँ मूल्य काठमाण्डू, पोखरा र दिपायलमा प्रतिलिटर १ सय ३९ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङमा डिजेल १४१ रुपैयाँ कायम भएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेलको मूल्य १४२ रुपैयाँ कायम भएको छ ।
निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य सूचीका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ ।
यसैबीच खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य पनि यथावत कायम छ ।