रिहा भए विष्णु पौडेल

काठमाण्डु टुडे २०८३ साउन १ गते १९:४८ मा प्रकाशित

काठमाडौ- एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विशेष अदालतबाट साधारण तारेखमा छुटेका छन् ।

विशेष अदालतले शुक्रबार उनीमाथि दायर मुद्दाको थुनछेक बहसपछि साधारण तारेखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो ।

आदेशपछि पौडेल साउन २८ गते उपस्थित हुने तारेख लिएर अदालतबाट बाहिरिएका छन् ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उपलब्ध प्रमाणका आधारमा हाललाई पौडेललाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको हो ।
आदेशमा हालसम्म प्राप्त प्रमाणबाट पौडेलको आरोपित कसुरसँग सम्बन्ध वा संलग्नता पुष्टि हुन नसकेको उल्लेख छ ।

उनले आरोप अस्वीकार गर्दै बयान दिएको र सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबारबाट पौडेलले कुनै सम्पत्ति वा लाभ लिएको भन्ने आधारसमेत तत्काल नदेखिएको अदालतले जनाएको छ ।

यही आधारमा विशेष अदालत ऐन, २०५९ को दफा ७ (ग) बमोजिम उनलाई साधारण तारेखमा राखेर पुर्पक्ष गर्न आदेश दिइएको हो ।

उक्त व्यवस्थाअनुसार प्रमाण परीक्षणका क्रममा आवश्यक देखिए अदालतले कानुनबमोजिम थप आदेश दिन सक्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us